सुर्खेत, १६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।
एकीकृत समाजवादी सुर्खेतले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी एकीकृत समाजवादी भएको बताएका हुन् ।
उनले भने ‘हाम्रा सामु अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिस्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिस्ट क्रान्तिको सुरुवात भएको थियो । विगतदेखि नै हाम्रो कम्युनिस्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिस्ट क्रान्तिमाथि प्रहार भयो । र पार्टीभित्र पटक पटक विद्रोह भयो ।’
विगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहबाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।
“एकपछि अर्को पिढी आउँछ तर विचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछि हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ,” उनले भने ।
“२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष्य बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाइको सरकारले न जनताका लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न वैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपी ओलीको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठुलो उपलब्धि हुने छ,” उनले भने ।
विगत सम्झदै नेता खनालले भने, “एउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाइको कम्युनिस्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपी ओली यो ठाउँमा पुगेका छन् र अझै योभन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिति आएपछि हामीले यो विकल्प रोजेका हौँ,” उनले भने ।
आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसद्लाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नका लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनको भनाइ छ ।
COMMENTS