करको दर हेरफेर : स्यानिटरी प्याडमा अन्तःशुल्क नलाग्ने (सूचीसहित)

काठमाडौँ, २४ भदौ । सरकारले आर्थिक ऐन २०७९ मा संशोधन गर्दै विभिन्न वस्तुहरूमा लाग्दै आएका करका दर संशोधन गरेको छ । विद्यमान आर्थिक ऐनमा उल्लेख भएका विभिन्न दस्तुर, शुल्क, महसुल र करका दरहरू हेरफेर गरिएको हो ।

बिहीबार राजपत्रमा प्रकाशित विवरणअनुसार फलामको कच्चा पदार्थमा लाग्ने १० प्रतिशत भन्सारलाई ५ प्रतिशतमा झारिएको छ । स्यानिटरी प्याडको आयातमा अन्तःशुल्क लाग्ने छैन । वनस्पति घ्यु, तेल उद्योगहरूले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र सूर्यमुखी तेलको आयात गर्दा भन्सार महसुल ९० प्रतिशतसम्म छुट दिने निर्णय सरकारले गरेको छ ।

भटमास र सूर्यमुखीको दाना आयात गर्दा यसअघि ५० प्रतिशत भन्सार छुट रहेकोमा अब ९० प्रतिशत भन्सार छुट दिइने छ । त्यस्तै, तोरी, रायो, क्यानोला, सर्स्र्युंको दाना आयातमा ५० प्रतिशत भन्सार छुट दिइँदै आएकोमा त्यस्तो छुटलाई पनि ९० प्रतिशत बनाइएको छ ।

उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केबल उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको रूपमा रहने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १० प्रतिशत तोकिएको छ भने ट्विस्टेड स्ट्रान्ड वायरमा भन्सार महसुल १५ प्रतिशत तोकिएको छ ।

त्यस्तै, सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा यसअघि नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिकाभित्र १० प्रतिशत र महानगरपालिकाभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था रहेकोमा त्यसलाई घटाइ नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिकाभित्र ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीको कारोबारमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board