जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ, ४ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

१०० ग्रुप, अनेरास्ववियु कोकोले नेपालको झन्डा लिएर प्रदर्शन गर्ने सूचना छ । त्यो प्रदर्शन हुने सूचना भएकाले गर्दा सुरक्षा व्यवस्था गरिएको हो, सुरक्षा स्रोतले भन्यो । निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गरेका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए । सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए ।

सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले जबराको निलम्बित अवस्थामा नै न्यायालयको नेतृत्व सम्हाल्ने भनाइको विरोध गरिरहेका छन् । जबरालाई भने सरकारले सुरक्षाकर्मी परिचालन गरेर बालुवाटारस्थित निवासबाट बाहिर निस्किन दिएको थिएन । सर्वोच्चमा पनि कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board