नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौँ, १४ असोज । नवरात्रीको आज पाँचौँ दिन । आज नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन गएको हो ।

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फूल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फूलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।

यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले संसारिक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास छ ।

नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board