काठमाडौं २१ असोज। । स्थानीय चुनावलगत्तैबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको सम्वादमा रहेका जसपा अध्यक्ष उपेन्द्र्र यादवले विहीबार सत्तागठबन्धनलाई चक्मा दिएका छन् । यादवले शुरुमै कांग्रेसलाई शर्त राखेका थिए – लोसपा गठबन्धनमा हुने हो भने जसपा अलग्गिने । यादवको चेतावनीलाई गम्भीरतापूर्वक लिएर गठबन्धनका अरु दलको पनि सुझावमा लोसपालाई कांग्रेसले छाड्न तयार भएको थियो । त्यो भन्दा पहिले यादवको शर्त थियो माओवादी अध्यक्ष प्रचण्डसंग पनि । प्रचण्डसंग उनले बाबुरामा भट्टराईलाई गठबन्धनमा सामेल नगर्न दबाव दिएका थिए । तर जबाफमा प्रचण्डले भट्टराईसंग पार्टी एकता नै गर्नेगरी सहमति गरेपछि त्यो च्याप्टर क्लोज भएको थियो ।
पछिल्लो गठबन्धनमा सहभागी एक नेताका अनुसार अब यादव कतै जांदनन् भनेर कांग्रेसले पेल्न खोज्दा उनी ओलीकहां गएका हुन् ।
यादवको सरोकार संघीय निर्वाचन क्षेत्रमा भन्दा बढी प्रदेशमा थियो । प्रदेशमा ४ दलका बीचमा मधेश प्रदेशका सीट बांडफांट गर्दा जसपाको एकल सरकार वा सवैभन्दा ठूलो दल बन्ने सम्भावना नदेखेपछि उनी अोलीसंग पुगेका हुन् ।
यादवको मुख्य रुचि प्रदेश सरकारको नेतृत्व आफ्नो दलले गराउनेमा छ । उता नेपाली कांग्रेसले पनि मधेशमा ठूलो दल बनेर प्रदेश सरकारको नेतृत्व आफूले गर्ने भन्नेमा नै केन्द्रित छ ।
यादवको हिसाबमा मधेशमा एमालेसंग तालमेल गरेमा संघीय निर्वाचनमा क्षति भएपनि प्रदेशमा ठूलो दल बन्न सक्ने आशा छ ।
संघीय निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनका आधारमा हेर्दा एमाले–जसपा र राप्रपा समेत हुंदा पनि मधेश प्रदेशका जम्मा १० वटा क्षेत्रमा सत्ता गठबन्धनभन्दा अघि रहेको छ । त्यसभित्रबाट जसपाले कति जित्ला ? वा एमालेले कति आफ्नो पक्षमा राख्ला भन्ने प्रश्न त छंदैछ ।
एमाले–जसपा– राप्रपा गठबन्धन हुंदा मधेशका सप्तरीको १ र ३, सिराहाको २, ३ र४ बराका २ र ३, पर्साका १,२ र ३ नं. क्षेत्रमा सत्ता गठबन्धन(नेका–माके–एस–लोसपा) भन्दा अगाडि रहेको छ ।
एकालेलाई भने जसपा मिल्न आउंदा फाइदा नै छ । सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपा हुंदा एमाले मधेश प्रदेशका कुने पनि क्षेत्रमा अघि देखिंन । जब जसपा तामेलमा आउंदा एमालेलाई कम्तीमा ५ सिट फाइदा हुनेछ । त्यसैगरी प्रदेश नं . १ को मोरंगका क्षेत्र क्षेत्र नं. १, २ र ४ मा एमालेका सिट थपिन सक्छन् । त्यहां उपेन्द्र यादवको पार्टीलाई एमालेले छाड्ने क्षेत्र भनेको क्षेत्र नं. ५ मात्र हो । जहां एमाले –सजससपा –राप्रपा हुंदा पनि सत्ता गठबन्धन नै अघि रहेको छ ।
यसैबीच जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । हामी सहमति नजिक पुगेका छौ, सम्भवत आजै फाइनल होला’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सहमति हुनेमा म विश्वस्त छु ।’
बिहीबार साँझ नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ । बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो । एमाले नेता रघुवीर महासेठको नीजि निवास भैंसेपाटीमा करिव ४ घण्टा भएको छलफलमा जसपा अध्यक्ष यादवले प्रतिनिधि सभाका २५ मा एमालेले सघाउनु पर्ने प्रस्ताव राखेको थियो । त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेपछि सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बुझिएको छ ।
एमाले अध्यक्ष निकट स्रोतका अुनसार बिहीबारको छलफलमा जसपाले मधेस प्रदेश, लुम्बिनी प्रदेश, वागमती र प्रदेश १ गरी प्रतिनिधि सभातर्फ २६ सिट र प्रदेश सभातर्फ पनि सोही अनुपातमा जसपालाई छोड्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर जसपाको उक्त प्रस्तावमा एमालेले २२ छोड्न तयार भएको छ ।
बाबुराम व्यंग्य
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा। भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’
बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले भनेका छन् ।यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’
‘
COMMENTS