काठमाडौं । बालिका बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।
लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।
जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका उनी असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
COMMENTS