प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : प्रचण्ड

चितवन, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरूद्धका लागि गठबन्धन बनेको स्पष्ट परे ।

प्रचण्डले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उनले थपे, “जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।”

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनले बताए । आगामी निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिँदै उनले भने, “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।”

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उनले अत्याधिक बहुमत ल्याउने दाबी गरे । उनले भने, “हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।” राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उनले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

संविधानमा हस्ताक्षर गरेका दलहरूबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उनको भनाइ छ । चितवनवासीले २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board