चौतारा, ३ मंसिर । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।
भूकम्पलगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाई नेपाली संघले एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए । बाक्लो नमुना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमुना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए ।
तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताइन् । उनका अनुसार केही माझी परिवारले नमुना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।
तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमुना बस्तीका घरमा आधा भागसम्म ढुंगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमुना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाखसम्म ऋण लागेको उनले बताए ।
दीर्घकालीन सोच नराखी बनाइएको नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।
COMMENTS