चौथोपटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक विजयी छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा संघीय मामिलामन्त्री भएका थिए ।

विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । सिंह २०३६ सालमा नेपाल विद्यार्थी संघको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन् ।

सिंहले यस निर्वाचनमा सात हजार १४० मत ल्याएर विजयी एका हुन् । सिंह उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा १२९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन् । मिश्रले सात हजार ११ मत ल्याएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board