त्रिशूली, १२ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो ।
नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको थियो । आइतबार नै सातजना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । करिब एक दर्जनले फाराम लिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवारसमेत आफैँ निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजातसहितको खर्च विवरण बुझाएका छन् । मत परिणामअनुसार निर्वाचित हुनुभएका क्षेत्र नम्बर २ को प्रदेश–१ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित रामप्रसाद ढुंगाना आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद दिन जानुपर्ने थियो ।
नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अजुर्ननरसिंह केसी र प्रदेश–२ बाट निर्वाचित बहादुरसिंह लामा (तामाङ)सँगसँगै विजयी र्यालीमा सहभागी हुनुपर्ने समयमा नव निर्वाचित सदस्य ढुंगाना भने खर्च विवरण बुझाउन चुनावी खर्चको बिलभर्पाइसहित आफैँ निर्वाचन कार्यालयमा पुगेका हुन् ।
“स्थानीयतहका उम्मेदवारले खर्च विवरण नबुझाएर जरिबाना तिर्न परेको सुनेको छु,” उनले भने, “निर्वाचित भएपछि मतदाताबाट लिनुपर्ने बधाई र दिनुपर्ने धन्यवादपछि साटासाट गर्न पाइन्छ तर, कानुनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।” निर्वाचनमा पराजित भएका उम्मेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीयतहको निर्वाचनका उम्मेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।
आम निर्वाचनअन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नम्बर १ मा ३१ लाख र क्षेत्र नम्बर २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले रु १७ लाखसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाखसम्म र प्रदेश समानुपातिक उम्मेदवारले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा छ ।
सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उम्मेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिबाना तिर्नुपर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन् ।
COMMENTS