अपांगता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताए ।

प्रधानमन्त्री देउवाले सोहीअनुसार अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराए ।

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ । यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ । दिवसका अवसरमा उनले स्वदेश तथा विश्वभरका अपांगता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संघसंस्था, नागरिक समाजलगायत सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकावालाप्रति शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले अपांगताको गाम्भीर्यको आधारमा अपांगता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सुविधामा क्रमशः वृद्धि गर्दै लगिएको अवगत गराउँदै अपांगता भएका व्यक्तिलाई स्वावलम्बी बनाउन आत्मनिर्भर जीवन जिउन सक्ने परिस्थिति निर्माणका लागि सरकारले रोजगार तथा स्वरोजगारका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा यी कार्यक्रमलाई अझ विस्तार गर्दै जाने सरकारको नीति छ ।

“मर्यादित, स्वावलम्बी र आत्मनिर्भर जीवनयापनका लागि अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको समेत पक्ष राष्ट्र भइसकेको सन्दर्भमा उक्त महासन्धिमा उल्लेख भएका विषयलाई नेपालको संविधान, सम्बन्धित ऐन, कानुनमा समावेश गरी अपांगता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सम्मानजनक ढंगबाट सम्बोधन गर्दै अघि बढिरहेको छ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । सरकारको यो प्रयासमा निजी क्षेत्र, नागरिक समाज तथा सबै राष्ट्रिय तथा गैरसरकारी संघसंस्थाको सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोही पनि पछाडि नपरून् भन्ने दिगो विकासको लक्ष्यअनुसार सरकारले अपांगता भएका व्यक्तिको सहज दैनिक जीवनयापन सुनिश्चित गर्न विकासका सबै आयामहरूलाई अपांगमैत्री बनाउने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । यस अवसरमा अपांगता भएका व्यक्तिलगायत सबै सीमान्तकृत समुदायका नागरिकको समस्या र आवश्यकतालाई सम्बोधन गर्न सरकारले आफ्नो क्षमताले भ्याएसम्म विशेष पहल गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले यस दिवसले अपांगता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपांगता भएका व्यक्तिको हक, हित र अधिकार प्रवर्द्धनको क्षेत्रमा अझ बढी एकीकृत र समन्वयात्मक तरिकाले उच्च समर्पणभावका साथ कार्य क्षेत्रमा उत्रन थप प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board