साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

काठमाडौँ, १९ मंसिर । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो । जितसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो ।

यसअघि शनिबार सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३–१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जित पक्का भएको थियो ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्‍यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए ।

विश्वकपमा फ्रान्स समूह ‘डी’को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board