वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ : कांग्रेस नेता विष्ट

स्याङ्जा, २० मंसिर । नेपाली कांग्रेसका नेता आनन्द विष्टले वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताएका छन् । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं कांग्रेस पूर्वकेन्द्रीय सदस्य विष्टले स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै संविधानको सफल कार्यान्वयन र मुलुकको समृद्धिका लागि वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका हुन् ।

“मलाई पार्टीले विशेष प्रतिनिधिको रूपमा डोटी खटाएको थियो । नौ पालिका रहेको डोटीमा स्थानीय तहमा सात पालिका प्रमुख र आठ पालिका उपप्रमुख कांग्रेसले जितेको थियो । हामी बलियो हुँदाहुँदै पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन रातदिन खट्यौं । कांग्रेसले गठबन्धनमा इमानदारिता देखाएको छ । असल राजनीतिक संस्कार प्रस्तुत गरेको छ । त्यसैले अबको सरकार पनि कांग्रेसको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन दलकै सहकार्यमा हुनुपर्छ,” विष्टले भने ।

यसअघि जनताले बहुमत दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धन बने पनि त्यसले मुलुकको समृद्धि र स्थायित्वमा काम गर्न नसकेको उनको आरोप छ । “जनताले बाम गठबन्धनलाई बहुमत दिएकै हुन् । नत्र सरकार पाँच वर्ष टिक्न सक्यो । नत पार्टी एकता नै जोगिन सक्यो । फेल भइसकेको परीक्षणलाई फेरि प्रयोग गर्दा खोज्दा पुरानै नतिजा दोहोरिने निश्चित छ,” उनले भने, “तर, कांग्रेसको नेतृत्वमा सरकार बन्दा संसद् जोगियो । मुलुकमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । अब मुलुकलाई विकासको चरणमा लैजानुपर्छ । अब सत्ताको लागि राजनीतिको फोहोरी खेल खेल्नु हुँदैन ।”

जनतामा राजनीतिक दलप्रति वितृष्णा पैदा हुन नदिन पनि एकताबद्ध भएर जानुको विकल्प नभएको उनी बताउँछन् । मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै समृद्धिको मार्गमा जानु नै अहिले प्रथम आवश्यकता बताएको विष्टले बताए ।

“अब युवाहरूले स्वदेशमै रोजगारीको प्रत्याभूति खोजिरहेका छन् । त्यसका लागि उद्योग धन्दा, कलकारखानाको विकास हुनुपर्छ । लगानी मैत्री वातावरण निर्माण गर्नुपर्छ । कृषिमा आधुनिकीकरण हुनुपर्छ । शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्नुपर्छ । विद्युत् उत्पादनलाई प्राथमिकता राख्नुपर्छ । त्यसपछि मात्र हामीले जनताको मन जित्नुका साथै समृद्धि हासिल गर्न सक्ने छौं । यी सबै कुरा हुनका लागि राजनीतिक स्थायित्व आवश्यक छ । एकल बहुमत नरहेको अवस्थामा वर्तमान सत्ता गठबन्धन दलहरू एक भएर अघि बढेमात्रै त्यो सम्भव छ,” विष्टले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board