प्रधानमन्त्री देउवाको चुनावी खर्च कति ?

काठमाडौँ, २१ मंसिर । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत् खर्च विवरण पेस गरेका हुन् । उनले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए ।

यस्तै, नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार १९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेशसभा (१)का लागि २१ लाख र प्रदेशसभा (२) का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board