समानुपातिकतर्फ कुन दलले कति मत पाए ? (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको हो ।

कुल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कुल ४७ दल सहभागी भएकामा ७ पार्टीले मात्र ‘थ्रेसहोल्ड’ कटाएका छन् ।

आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन् ।

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन् । राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ ।

तर, समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन् । प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारूढ नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड कटाउन सकेन । उसले २ लाख ९८ हजार ३९१ समानुपातिक मत पायो । तर, थ्रेसहोल्ड नकटेपछि त्यो मत खेर गएको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ७१ हजार ७२२ सम्म समानुपातिक मत ल्याएको थियो तर थ्रेसहोल्ड कटाउन सकेन ।

राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ । आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६४१ मत पाएको हो । दोस्रोमा कांग्रेसले २७ लाख १५ हजार २२५ तथा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएको छ ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ समानुपातिक मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

समानुपातिकमा कुन दलले कति मत पाए ?
नेकपा (एमाले)– २८,४५,६४१
नेपाली कांग्रेस– २७,१५,२२५
नेकपा (माओवादी केन्द्र)– ११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टी– ११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टी– ५,८८,८४९
जनता समाजवादी पार्टी–४,२१,३१४
जनमत पार्टी– ३,९४,६५५
नेकपा (एकीकृत समाजवादी)– २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी– २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी– १,६७,३६७

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board