समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?

काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कुल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् ।

प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार ७१२ मत प्राप्त गरेका छन् । यजसअनुसार नेकपा (एमाले) ले कुल सदर मतको ३०.६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९.२९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले कुल सदर मतको १२.६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १२.१९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६.३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४.५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४.२६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ ।

सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँड गरेको छ ।

प्रदेश नम्बर १
एमालेले प्राप्त गरेको ३८.५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२.६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११.५ प्रतिशत मतले ४, नेकपा (माओवादी केन्द्र)ले १०.५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३.५ प्रतिशतले एक, एकीकृत समाजवादीले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ । यस प्रदेशमा छ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन् ।

मधेस प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । कांग्रेसले २०.४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा एमालेले १८ प्रतिशत मतले आठ सिट प्राप्त गरेको छ । जनमत पार्टीले १६.८६ मत प्राप्त गरी सात सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५.३ प्रतिशत मतले सात सिट प्राप्त गरेको छ ।

त्यसैगरी, माओवादी केन्द्रले ९.२६ प्रतिशत मत प्राप्त गरी चार सिट, एकीकृत समाजवादीले ५.८३ प्रतिशत मत प्राप्त गरी तीन सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५.०८ प्रतिशत मत प्राप्त गरी दुई सिट प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३३ प्रतिशत मतले एक, नेपाल संघीय समाजवादी पार्टीले २.५७ मतले एक र नागरिक उन्मुक्ति पार्टीले २.५५ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।

बागमती प्रदेश
यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । एमालले ३२.३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७.२४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले १५.५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४.८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ । यता, एकीकृत समाजवादीले ३.७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३.६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २.५७ प्रतिशत मतले एक सिट सङ्ख्या प्राप्त गरेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन् । एमालेले ३९.०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७.०८ प्रतिशत मतले नौ सिट प्राप्त गरेको छ । माओवादी केन्द्रले १२.०४ प्रतिशत मतले तीन सिट र हाम्रो नेपाली पार्टीले ६.३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । एमाललेले ३२.१२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८.१३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ । माओवादी केन्द्रले ११.१६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७.१७ प्रतिशत मतले दुई, नागरिक उन्मुक्ति पार्टीले ७.०६ प्रतिशत मतले दुई र जनमत पार्टीले ४.५९ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

त्यसैगरी, जसपा नेपालले ३.४२ प्रतिशत मतले एक, एकीकृत समाजवादीले २.४ प्रतिशत मतले एक, लोसपा नेपालले २.१२ प्रतिशत मतले एक र राष्ट्रिय जनमोर्चाले १.८४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा छ राजनीतिक दलमध्ये पाँच दलले सिट प्राप्त गरेका छन् । एमालेले ३२.७१ प्रतिशत र नेपाली कांग्रेसले ३०.३६ प्रतिशत मतले समान पाँच सिट सङ्ख्या प्राप्त गरेका छन् ।

माओवादी केन्द्रले २४.४७ प्रतिशत मतले चार सिट प्राप्त गरेको छ । यस्तै, एकीकृत समाजवादीले ६.३७ प्रतिशत मत र राप्रपाले ४.४७ प्रतिशत मतले एक–एक सिट प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा छ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । एमालेले ३२.२३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ३१.६३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ ।

माओवादी केन्द्रले १४.२५ प्रतिशत मतले तीन सिट र नागरिक उन्मुक्ति पार्टीले ११.५६ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । यता एकीकृत समाजवादीले ५.१४ प्रतिशत मत र राप्रपाले ५.१९ प्रतिशत मतले एकरएक सिट प्राप्त गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board