काठमाडौं, १ पुस । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन् । अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ ।
पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनि सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए ।
‘हामी अर्काे प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ । सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई एक नम्बरमा राखेको छ । अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् । यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टाे, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् ।
माउरिन्होले चेल्सीबाट तीन प्रिमियरा लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् ।
यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष निकै आलोचित भएका थिए । सान्तोष टोलीमा रहँदा पहिलो पटक युरो २०१६ च्याम्पियन रह्यो । उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो खेलेको थियो ।
COMMENTS