27 June, 2020 9:46 am


भुइँ पुछ्न प्रयोग गरिने डिस्इन्फेक्टेन्ट घाँटीमा झुन्ड्याएर सुरक्षित भइन्छ त ? यस्तो छ कार्डको वास्तविकता

काठमाडौं, १३ असार ।  शुक्रबारको बैठकमा उपस्थित प्राय : नेताहरूको घाँटीमा नीलो रङको कार्डजस्तो झुन्डिएको देखिन्थ्यो। कार्यालयका कर्मचारीले व्यक्तिगत परिचयपत्र झुन्ड्याएजस्तो देखिने यो कार्ड आखिर के हो?
लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधवार सुरु भयो ।

विश्व कोभिड–१९ को माहामारीमा जुधिरहेको छ । विश्वका वैज्ञानिकहरु औषधि र भ्याक्सिनको खोजमा जुटिरहेका छन् । तर नेकपाको बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई ’भाइरस रिमुभिङ कार्ड’ बाँडे । नेता नेपालले चीनमा बनेको भाइरस रिमुभिङ कार्ड वितरण गरेका हुन्। नेपालले आफैंले किनेर कार्ड वितरण गरेको उनको सचिवालयले जनाएको छ । बुधवारको स्थायीक कमिटी बैठकमा ५० वटा कार्ड बाँडेका नेता नेपालले (शुक्रबार) थप १० वटा कार्ड बाडेका छन् । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै वैशाख ३१ गते बैठक स्थगित स्थायी कमिटीको बैठकमा माधव नेपालले कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै ’डिजिटल बुटी’ नै वितरण गरे । के यसले कोरोना संक्रमण रोक्ला त?

कार्ड के हो?


नेपालमा माधव नेपालबाट पहिलोपटक वितरण गरिएको ’भाइरस रिमुभिङ कार्ड’ विदेशमा प्रयोगमा आइसकेको छ। विभिन्न कम्पनीले यसको उत्पादन र वितरण थालिसकेका छन्।
चीनको क्वाङदोङमा बनेको ’भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ अनलाइनमार्फत विक्री वितरण हुँदै आएको छ । यस कार्डमा फेइस्मासाले प्याकेजिङ गरेको निलो ’ब्याग’ भित्र क्लोरिन डाइ अक्साइड, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनको समिश्रण राखिएको स्पेसिफिकेनमा उल्लेख छ । यो मुख्य गरी पोर्टेबल एयर प्युरिफायर हो । चार ग्रामको यो ’लकेट’ले हावामा रहेका भाइरस तथा दुर्गन्ध नस्ट गर्छ भनेर उल्लेख छ ।

के यसले काम गर्छ त?
विश्वभर महामारीको रुपमा फैलिको कोरोनाको अहिले सम्म कुनै पनि निरोधक औषधि वा भ्याक्सिन पत्ता लागेको छैन । भाइरस रिमुभल कार्डको प्रयोगको विषयमा विश्वका विभिन्न देशमा विवाद पनि चल्दै आएको छ । तर चीनकै विशेषज्ञहरुलाई यसको प्रयोग नगर्न सुझावसमेत दिएका छन् ।

इकमर्स साइटहरुमा अनलाइनबाट बिक्री वितरण भइरहेका यस्तो कार्डले ५० सिएम रेडियसमा क्लोरिन डाइअक्साइडको एकदम कम एकाग्रता (लो कन्सन्ट्रेसन)लाई ३० देखि ६० दिनसम्म हावामा पठाउँछ । यस्ता कार्डले कोरोना भाइरस मार्ने दाबी गर्दै विज्ञापन भइरहेका छन्।

’क्लोरिन डाइअक्साइडले सामान्य भाइरस मार्न सक्छ, स्पोर्स, अल्गाइ, फंगी मार्न प्रभावकारी पनि हुन्छ,’ चाइना फार्मासिटिकल युनिभर्सिटीका प्राध्यापक यीन लिफाङले भनेका छन्, ’छोटो समयमा नै जीवाणु मुक्त गर्न क्लोरिन डाइअक्साइडको उच्च एकाग्रता (हाइकन्सन्ट्रेसन)को प्रयोग गर्नु पर्छ । जुन मानिस स्वास प्रस्वास प्रणालीमा असर गर्छ । यसको प्रयोग वातावरणमा कोही पनि मानिस नभएको बेला गर्नुपर्छ।’

यसरी थोरै घाँटीमा भिरिने कार्डले छाड्ने क्लोरिन डाइअक्साइडको मात्रा थोरै हुने र यसको प्रभाव पनि कम पर्ने सान्सी विश्वविद्यालयको इन्स्टिच्यूट अफ इन्भाइरोमेन्ट साइन्सका निर्देशक दोङ चुवानले भनेका छन्। त्यति मात्र नभइ क्लोरिन डाइअक्साइड लामोसमय सम्म कार्डमा टिक्न सक्दैन। यदी कार्डको प्रयोग गर्दा फुट्यो वा क्लोराइट लिक भयो भने यसले छालामा सम्पर्क भए छाला जल्नुका साथै स्वासप्रस्वासमा विषयको काम गर्न सक्छ ।

स्वास्थ्यका लागि क्लोरिन डाइअक्साइट घातक

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले पनि मिराकल मिनरलका नाममा बेचिदै आएको क्लोरिनडाइ अक्साइड मिश्रित पेय पदार्थलाई प्रतिबन्ध लगाएको थियो। यस सम्बन्धमा एपीले फ्याक्ट चेक गर्दै यसले मानिसको स्वास्थ्यमा असर पार्ने देखाएको छ । सामाजिक सञ्जालमा क्लोरिन डाइअक्साइड र ’मिराकल मिनेरल’का नाममा भाइरहेको विज्ञापनमा सत्यता नभएको उल्लेख छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ एफडीएमा दर्ता नै नभएको देखिएको छ । एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामग्रीको प्रयोग नगर्न नै सुझाव दिएको पनि पाइएको छ ।

यस्तो कार्डमा क्लोरिन डाइअक्साइड, ग्यास सस्टेन रिलिज एजेन्ट, जियोलाइट र बाँसको कोइलाजस्ता पदार्थ राखिएका हुन्छन् । कार्ड निर्माताले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा (लो कन्सन्ट्रेसन) क्लोरिन डाइअक्साइड हावामा उत्सर्जन गर्दै वरपर भएका ब्याक्टेरिया, धूवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।

एफडीएले भने मार्च ८ मा एउटा सूचना नै प्रकाशन गरेर ‘क्लोरिन डाइअक्साइड’ युक्त कुनै पनि सामग्रीले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कहीँकतैबाट पनि पुष्टि नभएको जनाएको देखिन्छ । त्यस प्रकारको सामग्रीको बिक्रीवितरण गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस्तै अमेरिकाको इन्भारोमेन्टल प्रोटेक्सन संस्थाले समेत यस प्रकारका सामग्रीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै प्रतिबन्ध लगाएको देखिन्छ ।

नेपालमा मात्र नभई धेरै राष्ट्रमा यस प्रकारको सामग्रीको व्यापार अहिले ह्वात्तै बढेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ । एक समाचारअनुसार रुसका राष्ट्रपतिका प्रवक्ता, बोलेभियाका अन्तरिम राष्ट्रपति, लेबनानी नेताहरुले समेत यस्ता सामग्री प्रयोग गरेका छन् ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन । उनले हङकङ फ्री प्रेसलाई दिएको प्रतिक्रियाअनुसार यो सम्पूर्ण रूपमा ठगी धन्दा हो । ‘क्लोरिन डाइअक्साइड विशेष गरेर भुइँ पुछ्न प्रयोग गरिने डिस्इन्फेक्टेन्ट हो । यसलाई घाँटीमा झुन्ड्याएर कुनै पनि हालतमा भाइरसबाट सुरक्षित भइँदैन,’ उनले भनेकी छन्, ‘यो गलत हो ।’

एसियामा भियतनाम र थाइल्यान्डले यस्ता सामग्रीको बिक्रीवितरणमा प्रतिबन्ध नै लगाएका छन् भने केही देशमा बिक्रीवितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण श्वासप्रश्वासमा गम्भीर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरीरमा पानीको कमी), रगतमा क्षय, गम्भीर प्रकारको झाडाबान्तासमेत हुन सक्छ ।
क्लिनिकल ट्राइलमै रहेको तथा विदेशमा पनि प्रयोग नगर्न भनिएको एउटा औषधी पूर्व प्रधानमन्त्रीसमेत भइसकेका जिम्मेवार व्यक्तिले ’पब्लिक मार्केटिङ’ गर्नु जनस्वास्थ्य माथिकै खेलवाड हो।

नेपालमा बिक्रीवितरण गर्नुपूर्व औषधि व्यवस्था विभाग वा गुणस्तर विभागबाट गुणस्तरको प्रमाणपत्र पनि जारी हुनुपर्ने आवश्यकता छ ।


कार्डभिर्ने सदस्यले के भने ?
बैठकमा उपस्थित नेताहरूलाई उक्त कार्ड वितरण गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए। ’माधव (नेपाल) कमरेडले दिनुभएको हो, जापानमा पनि यस्तो कार्ड प्रयोग हुन्छ रे । यसलाई घाममा देखाउन हुँदैन रे,’ नेकपा स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले आफ्नो घाँटीको कार्ड देखाउँदै भने, ’मलाई त यो केटाकेटीलाई भूतप्रेत नलागोस् भनेर लगाइदिने जन्तरजस्तै लागेको छ। काम गर्छ कि गर्दैन थाहा छैन, बेसारको धूलोजस्तै हुने हो कि!’
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार सभापति कल्याणी खड्काले पनि ‘भाइरस रिमुभिङ कार्ड लगाएकी थिइन् । कार्डले ढुक्क नभएरै हुन सक्छ, उनले मास्क पनि लगाएकी थिइन् । उनले बैठक अवधिभरि नै मास्क खोलिनन् । ढोकैमा सेनिटाइजरको बोतल राखिएको छ । बैठक कक्षमा पनि दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिएको छ । नेकपाका सबैजसो र कांग्रेसकी रंगमति शाहीको गलामा त्यही कार्ड थियो । ‘यो कार्डले दुई मिटरसम्म भाइरसलाई निष्क्रिय बनाउँछ रे भनेर छोराले दिएको हो,’ सभापति खड्काले भनिन् ।
संसद् र समितिको बैठकमा सांसद यो कार्ड लगाएर उपस्थित हुन थालेपछि नेकपाका अरू सांसदले एकपछि अर्को खरिद गरेका हुन् । अधिकांश सांसदले विकास समिति सभापति खड्काको सम्पर्कमा पुगेर कार्ड किन्ने गरेका छन् । ‘मलाई कहाँ पाइन्छ यो कार्ड भनेर सोध्नुहुन्छ, मैले छोराको नम्बर दिने गरेकी छु,’ उनले भनिन् ।


नेकपा सांसद मोहन बानियाँले संसद् भवन अगाडि उक्त कार्ड किनेको बताए । ‘चीनबाट आएको हो । संसद् भवनको अगाडि बेच्न ल्याएको थियो । बेच्नेले मच्छर धूपले १ मिटर आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो,’ उनले भने । सांसदहरुका अनुसार कार्ड बेच्नेले चीनले विद्यालय र अफिसमा अनिवार्य गरेको बताएका छन् । ‘एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,’ नेकपाकै सांसद गणेश पहाडीले भने ।

सांसद झपट रावलले आफूले ४ वटा कार्ड किनेको बताए । ‘संसद्मा सबै साथीले कार्ड लगाएको देखेँ । केहीले यो लगाउनुप¥यो भन्नुभयो । १ मिटरसम्म भाइरस आउन दिँदैन पनि भन्नुभयो । कोरोनाभन्दा पनि कुनै भाइरसलाई नआउन दिने भनिएकाले लगाएको हो,’ उनले भने, ‘संसद् सचिवालयका चिकित्सकलाई पनि सोधेको थिए । उनीहरूले राम्रै हुन्छ, लाउनुस् भन्नुभयो ।’ नेकपाकै सांसद लक्ष्मी चौधरीले भाइरस रिमुभिङ कार्डले एन्टिबायोटिकको जस्तै काम गर्छ’ भन्ने सुनेपछि आफूले पनि लगाएको बताइन् ।

कांग्रेसकी सांसद रंगमती शाहीले भने आफन्तले जापानबाट ल्याइदिएको बताइन् । ‘भदाले जापानबाट ल्याएर दिनुभएको हो । एउटा मात्रै बाँकी रहेछ । सबैभन्दा बढी बाहिर हिँड्ने म भएकाले दिनुभएको हो । एक महिनासम्म यो कार्डले कोरोना भाग्छ रे,’ उनले भनिन्, ‘यो भर्खरै निस्किएको भन्ने छ । सबैले लगाएका छन् । त्यसैले मैले पनि लगाएँ ।’

सांसद पहाडीले भने उक्त कार्डले कोरोना भाइरसलाई एक मिटर परै रोक्नेमा आफूलाई विश्वास नभएको बताए । ‘स्वास्थ्य मन्त्रालयले बिक्री वितरणका लागि अनुमति दिएको छैन, नेपालमा खुलम् खुला बिक्री वितरण भएको पनि छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय र चिकित्सकले प्रमाणीत नगरी लगाउँदा त सुरक्षित महसुस नहुने रहेछ । यो लगाएपछि मास्क लगाउनु पर्दैन भन्छन् तर हामीले मास्क लगाइरहेका छौं ।’

के भन्छन् नेपालका चिकित्सक


चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ । किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board