30 June, 2020 7:20 am


लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय : भीडभाड हुने क्षेत्रहरु बन्द


काठमाडौं, १६ असार । मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको वैठकमा सहभागि एक मन्त्रीले बताए । ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने। यद्यपी निश्चित ठाउँको जोखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएको समेत उनले बताए ।

ती मन्त्रीले भने, ‘कोरोनाको जोखिम अवस्था हेरेर लकडाउन खुकुलो या कडा गर्नेबारेको निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्नेछन्।’

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो।

तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board