काठमाडौं, २० असार । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
मृत्यु हुनेहरु कुन् – कुन् ठाउँका हुन् ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाटै मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।
नेपालमा पछिल्लो संक्रमित अवस्था
नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सार्कराष्ट्रमध्ये मध्ये कोरोना परीक्षण दर प्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको उनले बताए ।
अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ । शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
COMMENTS