9 July, 2020 10:18 am


बाढी अपडेट : २२ जना बेपत्ता, ३२ घर बगायो, सभामुख सापकोटा आकाशबाटै फिर्ता

सिन्धुपाल्चोक, , २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।

बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी २० वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उनले बताए । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बाढी पीडित र घाईतेको उद्दारका लागि सिन्धुपाल्चोक जाँदै गरेका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्किएका छन्।

मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेल बाट फर्कनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । ” मौसम प्रतिकुल भएपछी सभामुख ज्यु धुलिखेलको आकसबाट फर्कनुभएको छ” सल्लाहकार न्यौपानेले भने । सडक सम्पर्क टुटेपछि सभामुख सापकोटा सहितको टोलि हेलिकप्टरमा घटनास्थल जाँदै थिए । बाढिग्रस्त क्षेत्रमा पुन वर्षा हुन लागेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board