काठमाडौँ, २५ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढी–पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता भएकोमा उनीहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले विगत केही दिनयता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
COMMENTS