काठमाडौं, २८ असार । नेपालमा यो बर्षको मनसुन शुरु भएसँगै करीव ३ हप्तामा बाढी तथा पहिरोका कारण डेढ सय जनाभन्दा बढी नागरिकले ज्यान गुमाइसेकका छन् । पहिरोले घर वा वस्ती नै पुरिंदा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् भने एक सय जनाभन्दा बढी घाइते छन् ।
सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ, बझाङ, जाजरकोट, संखुवासभालगायतका जिल्लाहरुमा पहिरोले बस्ती बगाउँदा कैयौ घर परिवार विस्थापित भएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ ।
देशका १९ जिल्ला धेरै प्रभावित भएको छ । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ । म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसैबिच, संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको वेसिन्दामा गएरातीको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सुरु भएको छ । स्थानीयको सहयोगमा घटनास्थलमा प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवाटारबाट गएको प्रहरी टोलीले बेपत्ताको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।
उद्धारमा खटिएका मदन राईको भने अचान बहोस भइ मृत्यु भएको छ । दमको बिरामी रहेका राईको मृत्यु हृदयघातका कारण भएको प्रहरीले जनाएको छ । अविरल बर्षासंगै गएको पहिरोले ९ घर बगाएको छ ।
सयौँ विस्थापित
सरकारी तथ्याङ्कले जनाए अनुसार मनसुन सुरु भएसँगै नेपालमा यस बर्ष झन्डै एक महिनाको अवधिमा बाढी, पहिरो र चट्याङका कारण झन्डै १०० जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत जेठ २८ गतेदेखि आइतवार बिहानसम्ममा बाढी, पहिरो र चट्ट्याङका कारण ९६ जनाको ज्यान गइसकेको छ भने कम्तीमा ३८ जना बेपत्ता छन्।
गृह मन्त्रालयका अनुसार गत साताको अन्त्यदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाले विशेषतः मध्यपहाडी जिल्लाहरूमा पहिरोले धेरैको ज्यान लिएको छ। मन्त्रालयका अनुसार विगत तीन दिनमै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण सयौँ परिवार आफ्नो बसोबास क्षेत्रबाट विस्थापित हुनुपरेको छ। मन्त्रालयले शनिवार मात्र लमजुङका ४९ र रौतहटका ३०० विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो।
वर्षा जारी रहने, यी स्थानहरुमा बढी खतरा
विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न भागमा बाढी र पहिरोको खतरा बढी रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाले कोशी, कमला, वाग्मती, नारायणीजस्ता ठूला नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै प्रदेश नम्बर १, २ र ५ का चुरे र तराई क्षेत्रबाट बहने साना नदीमा आकस्मिक रूपमा बाढी आउने उच्च सम्भावना रहेको शाखाले जनाएको छ।
शाखाका अनुसार सम्भावित खतरा रहेका क्षेत्रका बासिन्दाहरूलाई एसएमएसमार्फत् पनि चेतावनी दिइएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा जारी रहने जनाएको छ।
आइतवार बिहान आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एकाध स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ।
देशैभरिबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति र मृतक तथा घाइतेको सङ्ख्या बढिरहेको छ ।
COMMENTS