13 July, 2020 11:14 am


दैनिक पत्रिकामा : जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

आजको पत्रपत्रिकामा बाढी र पहिरो, नेकपा एकताको डोरी, सार्वजनिक यातायात खोल्न अलमल, कोरोनाले पर्यटन क्षेत्र सङ्कटमा, खाद्यान्न र राहत बोकेर हेलिकप्टर आउने आसमा पहिरो पीडित, भित्रियो दाङमा पुनः ‘सलह’ लगायतका खबरहरु प्रमुख रुपमा छापिएका छन् ।

सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरूले बताएका छन् ।

दुई अध्यक्षबीच लामो समयसम्म भएको ‘वान टु वान’ छलफल र संवादले नेकपामा देखिएको संकटलाई समाधान गरेको दुई अध्यक्षहरूकै पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताको पक्षमा दिएका अभिव्यक्तिले नेकपामा चुँडिन लागेको एकताको डोरी जोडिएको विश्वास अन्य नेता तथा कार्यकर्ताहरूले गरेका छन् ।

स्रोतका अनुसार नेकपा फुट्छ कि भन्ने चिन्ताले देशभरका कार्यकर्ता र दोस्रो तहका युवा नेताले दबाब दिँदै आइरहेका छन् । दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पुर्‍याउने काम सम्बन्धित पार्टी र नेताको भएकाले सहज समाधान निस्कन्छ । सोही दबाबकै कारण अध्यक्षद्वय पार्टीलाई एकजुट बनाएर लैजाने निष्कर्षमा पुगेको बताइएको छ । यो खबर आजको राजधानी दैनिकले ‘जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?’
शिर्षकमा विशेष खबर बनाएर छापेको छ ।

त्यस्तै, नेपालमा मृगौला प्रत्यारोपण ऐन संशोधन भई अंग दानको प्रावधानलाई स्वीकृति दिइसकेको भए पनि मृगौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सक तथा दाताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । अझै मृगौला दान दिने व्यक्तिलाई मानव बेचविखन ऐनअन्तर्गत कारबाही गर्दै सरकारले दुवै कानुनलाई सक्रिय बनाइराखेको छ । दुई खालको ऐन भएकै कारण चिकित्सक तथा दाताहरु पक्राउ परिरहेका छन् । हालै भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन चिकित्सकसहित ९ जनालाई प्रहरीले मानव बेचविखन ऐन लगाएर पक्राउ गरी काठमाडौं ल्याएको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरका कानुनी सल्लाहाकार रमेश काफ्ले, कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरको प्रमुख सञ्चालक अधिकृत डा। सुप्रभात श्रेष्ठ, कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरका डा. बालकृष्ण कालाखेती, नोबेल अस्पतालका डा। राकेशकुमार बर्मा रहेका छन् ।, यो खबर आजको समाचारपत्रमा ‘लाग्ला त प्रधानमन्त्रीलाई कानुन ?’
‘दुई खालको ऐनले दाता तथा चिकित्सक मारमा’
शिर्षकमा यो खबर छापिएको छ ।

त्यस्तै, झुरुप्प परेको बस्तीमा थियो मन्जिता श्रीपालीको घर । शुक्रबार बिहान झिसमिसे हुन भ्याएकै थिएन । २२ वर्षीया मन्जिता बस्तीका अरू सबैझैं ढुक्कको निद्रामा थिइन् । साथमा ६ वर्षका छोरा थिए भने पेटमा ६ महिनाको गर्भ । धौलागिरि गाउँपालिका–६ मराङ राम्चेस्थित त्यस बस्तीमा अचानक आएको पहिरोले घर मात्र भत्काएन, उनको पेटमै हान्यो । गर्भवती श्रीपाली गम्भीर घाइते भइन् । काखको छोरालाई चोट लाग्यो । आफन्तले उनलाई पहिरोबाट झिके । झिसमिसेमा छामछाम र छुमछुम गर्दै उनीहरू छिमेकीको पिँढीमा पुगे । त्यतिबेलासम्म श्रीपाली परिवारसमेत बस्तीका ९ जनालाई पहिरोले पुरिसकेको थियो ।

पहिरोले थिचिएर गम्भीर घाइते भएकी श्रीपालीलाई तत्काल उपचारका लागि अस्पताल लैजाने कुनै उपाय भएन । शुक्रबारको दिन भगवान्को प्रार्थना गर्दै बित्यो । घाइते गर्भवती अलपत्र परेको खबर सुनेपछि बेनीका युवा व्यवसायीहरू राजेश शाक्य र नारायण जीसीले निजी खर्चमा हेलिकप्टरबाट उनलाई उद्धार गरी बेनी पुर्‍याए ।

बेनी अस्पतालले ६ महिनाको उनको गर्भको शिशु नरहेको पायो । मन्जिताको हिपको हाड भाँचिएको भेटेपछि थप उपचारका लागि पोखरा रिफर गरिदियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा आइतबार शल्यक्रिया गरेर उनको पेटबाट मृत शिशु निकालिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकले ‘पेटमै हान्यो पहिरोले’ शिर्षकमा मुख्य खबर रुपमा छापेको छ ।

त्यस्तै, वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ । विपत्को वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले भने उद्धार र राहत नपाएको गुनासो गरिरहेका छन् ।

सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा बुधबार राति पहिरो आएपछि बिहीबार बिहानै सभामुख अग्नि सापकोटा सेनाको हेलिकोप्टर लिएर सो क्षेत्र गएका थिए । मौसम खराब भएकाले धुलिखेलमा केही घन्टा रोकिएर उनी चढेको हेलिकोप्टर घटनास्थलतर्फ गएको थियो । बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल र उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हेलिकोप्टरमा गएका थिए । कांग्रेस नेता मोहन बस्नेत पनि हेलिकोप्टर लगेर गएका थिए ।

‘जम्बु क्षेत्रका बासिन्दालाई स्थलमार्गबाटै बाह्रबिसे पु¥याउन सकिने अवस्था थियो, तर नेताहरूका हेलिकोप्टर आउँदै छन् भनेर घाइतेलाई पनि पर्खाइएको थियो, मौसम खराब भएकाले नेताका हेलिकोप्टर निर्धारित समयमा पुगेनन्, त्यसैले घाइतेको उपचारमा अनावश्यक ढिलाइ भयो,’ जम्बु क्षेत्रका बासिन्दाको भनाइ छ । यो खबर आजको नयाँ पत्रिकामा ‘हेलिकोप्टरको होहल्लामा दब्यो विस्थापितको वेदना‘ शिर्षकमा मुख्यर खबरको रुपमा छापिएको छ ।

त्यस्तै, कोरोना महामारी सुरु नभएको भए यति बेला कीर्तिमानी आरोही कामिरिता शेर्पा २५औं पटक सगरमाथा चढेर काठमाडौं फर्किसकेका हुन्थे। आफ्नै कीर्तिमान तोड्दै ‘५० वर्षमा २५ चोटि सगरमाथाको सफल आरोहण’ गर्ने उनको लक्ष्यमा कोरोना भाइरस अवरोध बनिदियो।

यसअघि २४ चोटि सगरमाथा र ३६ चोटि अन्य हिमाल चढेर सर्वाधिक हिमाल आरोहण गर्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएका उनी यति बेला कपनस्थित घरमै आरोहण खुल्ने समयको प्रतीक्षामा छन्।

सरकारले गत मार्च १६ मा एकाएक आरोहण बन्द गरेसँगै कामिरिताको मात्रै आरोहण तालिका परिवर्तन भएन, सन् १९५३ पछि पहिलोपटक यो वर्ष कुनै पनि हिमालको आरोहण भएन। कामिरिता आरोहणका लागि बन्दोबस्तीका सामान बोकेर लुक्ला पुगिसकेका थिए। एकाएक लकडाउन सुरु भएपछि उनले नयाँ कीर्तिमान बनाउन त सकेनन् नै, विदेशीसँग भएका सम्झौतासमेत रद्द गरेर बेरोजगार बने। राष्ट्रिय अभियानका रुपमा सरकारले आयोजना गरेको ‘भ्रमण वर्ष २०२०’ ले हौसिएका आफूलगायत पर्यटन व्यवसायसँग सम्बन्धित दुई लाखभन्दा बढी व्यक्तिको दैनिकी परिवर्तन भइसकेको उनले बताए।, यो खबर आजको नागरिक दैनिकमा ‘मानव पाइलाले चुमेनन् शिखर’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’ यो खबर आजको गोर्खापत्रमा ‘भारत सरकारलाई ध्यानाकर्षण पत्र’ शिर्षकमा छापिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board