15 July, 2020 10:52 am


आजका पत्रपत्रिका: घरबार गुमाएका ७ हजार बढी राहतको पर्खाइमा, बर्दीविनाका सीमारक्षक जसलाई सिंहदरबारले चिन्दैन !

काठमाडौं, ३१ असार । आजका पत्रपत्रिकामा विशेष बाढी र पहिरोकै खबर छ भने, कर्मचारीले घुस खाएको विषय पनि मुख्य खबर रहेको छ । आज नागरिक दैनिकले मेलम्ची खानेपानीको सुरुङबारे मुख्य खबर बनाएको छ । गोरखापत्र दैनिकले बाढीको खबरलाई मुख्य बनाएको छ भने प्रधानमन्त्री ओलीको भनाईलाई मुख्य पृष्ठमा छापेको छ । त्यस्तै, आजको कान्तिपुर दैनिकमा ओम्नी प्रकरण र मेलम्चीको सुरुङ फुटेको विषयलाई मुख्य खबर बनाएको छ । त्यस्तै, नेपाल भारत सिमाको विषयमा आजको नयाँ पत्रिकामा काँकडभिट्टादेखि कञ्चनपुरसम्म भारतीय ज्यादती भोगिरहेका जनताको कथाको विषयमा विशेष रिपोर्ट छापिएको छ ।

सहरका मञ्चमा उभिएर भाषण गर्नेहरूले सीमामा ज्यानको बाजी थापेर भूगोल जोगाउने जनतासँग देशभक्तिको प्रमाणपत्र माग्छन् र मानमर्दन गर्छन्, जब कि सीमास्तम्भ जोगाउँदा कतिले भारतीय फौजको अपशब्द सहेका छन्, कतिले भौतिक आक्रमण भोगेका छन्, अझ कतिले गोली पनि थापेका छन् ।

काठमाडौं र ठूला सहरमा बसेर अखबारमा लेख्न र टेलिभिजनमा बोल्न सजिलो छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर एक–अर्काको देशभक्तिमाथि प्रश्न गर्न झन् सजिलो छ । तर, राष्ट्रवादको यो प्रतिस्पर्धामा ती नागरिक चर्चाबाहिर छन् जसले भारतीय अतिक्रमणको प्रतिवाद गरेर सीमास्तम्भ जोगाएका छन् । कतिले अपशब्द सहेका छन्, कतिले भौतिक आक्रमण भोगेका छन्, अझ कतिले गोली पनि थापेका छन् । तर, उनीहरूले देशको सिमाना जोगाएका छन् । तर, विडम्बना सहरका मञ्चमा उभिएर भाषण गर्नेहरूले सीमाना उभिएर भूगोल जोगाउनेसँग देशभक्तिको प्रमाणपत्र माग्छन् र मानमर्दन गर्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा ‘बर्दीविनाका सीमारक्षक जसलाई सिंहदरबारले चिन्दैन, काँकडभिट्टादेखि कञ्चनपुरसम्म भारतीय ज्यादती भोगिरहेका जनताको कथा’ शिर्षकमा पहिलो पृष्ठमा विशेष रिपोर्ट बनेको छ ।

त्यस्तै, रामको जन्मभूमि अयोध्या नेपालको वीरगन्जनजिकै पर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति विवादबारे पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा यो खबर छापेको छ । समाचार अनुसार नेपाल–भारत सम्बन्धमा अर्को समस्या थपिएको छ । त्यसैले परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको स्पष्ट पारेको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती समारोहमा व्यक्त विचारहरूलाई लिएर भइरहेका विविध व्याख्याहरूमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा छ, ‘प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पुर्‍याउने आशय राखिएको थिएन ।’ यो खबर प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण, ‘नेकपाका नेता र कांग्रेसको आलोचना’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, आजको नेपाल समाचारपत्रले शिक्षा सम्बन्धी विशेष खबर बनाएको छ । देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाब दिएको हो ।

सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अधिकारीहरुको बैठकमा सबै प्रदेशको सामाजिक मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय खोल्न माग गरेको हो । त्यसलगत्तै मन्त्रालयले विद्यालयल खोल्ने विषयमा गृहकार्य शुरु गरेको छ । यो खबर नेपाल समाचारपत्रले ‘बन्द विद्यालय खोल्न स्थानीय तहको दबाब’ शिर्षकमा मुख्य खबर बनाएको छ ।

त्यस्तै , आजको राजधानी दैनिकले कर्मचारी खाएको घुसबारे र बाढी र पहिरोको विशेष खबर छापेको छ । समाचार अनुसार सरकारी विपद् कोषमा ४ अर्बभन्दा बढी रकम मौज्दात छ तर बाढीपहिरोबाट प्रभावित भएका झन्डै ७ हजारले प्रभावकारी रूपमा राहत पाउन नसकेको देखिएको छ । बाढीपहिरोबाट घरबार गुमाएकामध्ये अधिकांशले बिहान र बेलुकी राम्ररी खानसमेत पाएका छैनन् । सरकारबाट गरिएको उद्धार कार्य फितलो भएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ४५ करोड र गृह मन्त्रालयअन्तर्गत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा डेढ अर्बभन्दा बढी रकम मौज्दात भए पनि विपद्वाट उत्पन्न संकटको समयमा सो रकमको परिचालन हुन नसकेको हो । रकमको प्रभावकारी परिचालन हुन नसक्दा प्रभावितहरू समस्यामा परेका हुन् । यो खबर आजको राजधानी दैनिकमा ‘विपद् कोषमा थन्कियो ४ अर्ब, घरबार गुमाएका ७ हजार बढी राहतको पर्खाइमा’ शिर्षकमा पहिलो पृष्ठमा छापिएको छ ।

त्यस्तै, पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ । अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो । अभियोग दाबीलाई प्रमाणले समर्थन नगरेको भन्दै तीनै जनालाई अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले तीनै जनाले सफाइ पाएको बताए । न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले अख्तियारले सही रूपमा प्रमाण मूल्याङ्कन नगरेकाले शङ्काकै आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै सफाइ दिएको हो । यो खबर आजको गोरखापत्रमा ‘पूर्वगभर्नर रावलसहित तीन जनालाई सफाइ‘ शिर्षकमा छापिएको छ ।

त्यस्तै, मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको ढोका गेट मंगलबार एक्कासि खुल्दा तेज गतिको पानीले बगाएर दुई कर्मचारी बेपत्ता भएका छन्। अन्य दुईजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। आयोजनाको मुहान स्थल हेलम्बुस्थित अम्बाथान अडिट सुरुङ टनेल भित्रको मुख्य सुरुङको गेट एक्कासि खुल्दा यस्तो दुर्घटना भएको हो । यो खबर आजको नागरिक दैनिकमा ‘मेलम्ची सुरुङमा दुर्घटना: एक्कासि गेट खुल्दा इन्जिनियरसहित दुई बेपत्ता’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच आन्तरिक विवाद बढ्दै गएपछि त्यसलाई मत्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन्। पार्टी एकता जोगाउनुपर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरुसँग भेटघाट गरेर विवाद मत्थर पार्ने कोसिस गरिरहेका छन्।

‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नुभएको छ। यो एक साता उहाँले सबै नेतालाई भेट्नुभएको हो’, महासचिव निकट स्रोतले भन्यो। महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन। दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाइ रहेको र त्यही कुरा सबै नेताहरुलाई भनेको स्रोतले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा ‘नेकपा विवाद मिलाउन महासचिवको दौडधुप’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले महानगरका जनप्रतिनिधि, कुचिकार र सवारी चालकलाई साइकल दिने निर्णय गरेपछि महानगरमा अब साइकलपारखी बढ्ने भएका हुन् ।

काममा छिटोछरितो, गल्ली गल्छेडामा सहज आवागमन, द्रुत रूपमा घरदैलो पुग्न र स्वच्छ वातावरणका लागि महानगरपालिकाले निर्वाचित प्रतिनिधिसहित कर्मचारीलाई साइकल दिने निर्णय गरेको महानगरका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

आजका पत्रपत्रिकामा के – के छापिए हेर्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board