हरिकुमार राई
गाईघाट, ३१ असार । उदयपुर जिल्लाबाट रासस समाचारदाता भएर २०६४ सालदेखि नै समाचार लेख्न थालेको भएपनि विषम परिस्थितिमा रिपोर्टिङ गरेको खासै अनुभव ममा थिएन । गत वर्षको चैत १८ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलो चोटि कोरोनाको सङ्क्रमण देखा परेको खबरसँगै दौडधूप बढ्न थाल्यो ।
भुल्के हुँदै अन्यत्र पनि कोरोना सङ्क्रमण फैलन शुरु भयो । लकडाउनलाई पर्वाह नगरी जतिखेर पनि स्थलगत रिपोर्टिङमा हिँड्नु प¥यो । त्यस दौरान जीवनमा पहिलो पटक रिपोर्टिङ कठिन काम रहेछ भन्ने अनुभूति मलाई भयो । चैत १८ गते पहिलो पटक उदयपुरको भुल्केस्थित नुरी मस्जिदका चार जमातेमा कोरोना सङ्क्रमण पुष्टि भयो ।
यो घटनाले उदयपुर जिल्ला मात्र हैन १ नं प्रदेशसहित नेपालभरबाट चिन्ता र चासो व्यक्त भयो । चैत २२ गते भुल्केमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । वैशाख ४ गतेसम्म पुग्दा भुल्केमा मात्रै ३२ जना सङ्क्रमित भेटिए । उदयपुरको भुल्के गाउँको चर्चा प्रदेश नं १ मा मात्र नभएर देशकै कोरोनाको ‘इपिसेन्टर’ रुपमा हुन थालिसकेको थियो ।
भुल्केमा फैलिएको सङ्क्रमणले जिल्लाभर सन्त्रास फैलाएको थियो । यस्तो अवस्थामा जिल्लाका धेरै पत्रकारहरु ज्यान हत्केलामै राखेर त्यस गाउँमा रिपोर्टिङ गर्न जाने तयारीमा जुटे । देशकै एक मात्र समाचार एजेन्सी रासससँग आबद्ध भएको नाताले ममाथि ठूलै जिम्मेवारी थियो । चिन्ता र डरलाई पन्छाएर रिपोर्टिङमा हिँड्ने अठोट गरें तर जाने काम सोचे जस्तो सहज भने थिएन ।
मास्क थिएन, सेनिटाइजर थिएन, लकडाउनका कारण पसलहरु बन्द थिए ।
केही कपडा खोजखाज गरी घर नजिकैको टेलर्समा मास्क सिलाउन दिएँ र त्यही लगाएर म पहिलो पटक रिपोर्टिङ् गर्न भुल्के पुगें । सारा भुल्के क्षेत्र चकमन्न थियो । स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले पूरै गाउँ सिल गरेका थिए । भुल्केका बासिन्दा घरभित्र थुनिएका थिए ।
घरपालुवा जनावरहरु चरन र पानीको अभावमा ड्वाँ–ड्वाँ कराइरहेको आवाज सुन्न सकिन्थ्यो । पहिलो पटक भुल्केको स्थलगत रिपोर्टिङ पछि लेखेको समाचार धेरै सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण÷प्रकाशन गरेको पाएर आफूले खाएको हण्डर बिर्से । सन्तोषको अनुभूति भयो ।
विभिन्न सञ्चारमाध्यममा आबद्ध हामी पत्रकारहरु भुल्के गएर रिपोर्टिङ कार्य शुरु गरेपछि वरपर छिमेकीहरुले समेत कोरोना सर्ने डर र त्रासले आफ्ना घर टोलमा हामीलाई प्रवेश निषेध गरे । मेरा छिमेकीहरुले मलाई वल्लो घर पल्लो घर जान निषेध गरे ।
यस्तो स्थिति बेहोरेपछि भुल्के क्षेत्रमा रिर्पोर्टिङमा जाने सबै पत्रकारले तत्काल स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीलाई आफूहरुको नमूना स्वाब परीक्षणको प्रवन्ध मिलाइदिन अनुरोध ग¥यौं । उनको जवाफ उत्साहप्रद थिएन । उनको भनाइ थियो – “अहिले हामीसँग किट र अन्य उपकरण कमै मात्र छ, भुल्केवासीलाई नै स्वाब परीक्षण गर्न पुगेको छैन, तपाईहरुको पछि परीक्षण गरौंला ।” वास्तवमा प्रदेश नं १ को उदयपुर पहिलो कोरोना सङ्क्रमित जिल्ला भएका कारण परीक्षणका लागि पर्याप्त सामग्री र उपकरण जिल्लामा आइसकेकै थिएन ।
एकातिर जिल्लामा यस्ता उपकरणहरुको अभाव थियो भने अर्कोतिर दिनानुदिन कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको थियो । हेर्दाहेर्दै सम्पूर्ण उदयपुर जिल्ला नै सिल गरियो ।
विशेष व्यक्ति र अनुमतिपत्र लिएकाहरु बाहेक बाहिरबाट कसैलाई पनि जिल्ला प्रवेश गर्न दिइएको थिएन । उदयपुरबाट बाहिर जान पनि निषेध गरिएको थियो ।
परीक्षण सामग्री पुगेको केही दिन पछि नै खपत भएर अभाव शुरु भइहाल्थ्यो । कोरोना सङ्मिक्रत क्षेत्रमा पटक–पटक रिपोर्टिङमा गएको हुनाले घर फर्केर आएपछि महिनौं दिनसम्म एउटा कोठामा रहनु प¥यो । श्रीमती, छोराछोरी भन्दा टाढै छुट्टै कोठामा अलग्गै बस्नु पर्ने बाध्यता आयो । बिहान बेलुकी कोरोना सङ्क्रमणबाट बच्न दैनिक तातो पानी र बेसार पानी पिउँदै रिपोर्टिङको कार्यलाई जारी राखें ।
रासस केन्द्रीय कार्यालयबाट सोधखोज हुँदा समाचार लेख्न प्रोत्साहन मिल्थ्यो । जिल्लाको स्थिति अवगत गराउन पाएर खुशी लाग्थ्यो । भुल्के क्षेत्रमा दैनिक भइरहेको लकडाउनले गाउँलेहरुको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको थियो । गाउँलेहरुलाई घरबाट बाहिर समेत ननिक्लन प्रशासनको कडा निर्देशन भएकाले गाउँलेहरुले घरमा भएका धान मिलमा पिसेर खाने अवस्था थिएन । गाईवस्तु गोठभित्रै भोकभोकै मर्ने अवस्था थियो ।
भुल्केवासीहरुबाट हामी पत्रकारहरुलाई गाउँको दयनीय अवस्था र आफूहरुको समस्यालाई उजिल्याइदिन पटक–पटक फोन आउन थाल्यो । वैशाख ३ गते केही पत्रकार साथीहरुसँगै म भुल्केको कोरोना फैलिएको मुख्य टोल र अन्य टोलहरुमा गएर उनीहरुको मर्का बुझ्यौं र त्यसबारे समाचार सम्प्रेषण ग¥यौं । रिपोर्टिङका क्रममा भुल्केका एक स्थानीय बासिन्दाले यसरी पीडा पोखे – “एक महिनादेखि पूरै गाउँ सिल छ ।
हिँड्डुल गर्न पाइन्न । घरमा भएका चामल, नून, तेल सबै सकिए । ढु्कुुटीमा धान छ, मिलमा पिस्न पाइँदैन । घरमा पैसा छ, किनेर खान पाइँदैन ।” यो समाचारलाई राससले प्राथमिकताका साथ सम्प्रेषण ग¥यो । थुप्रै सञ्चारमाध्यमबाट भुल्केवासीको यो दर्दनाक पीडाको समाचार बाहिर आएपछि स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाको ध्यान आकृष्ट भयो ।
समाचार आएको भोलिपल्ट नै भुल्केमा स्थानीय प्रशासनले छुट्टै एउटा पसल सञ्चालन गर्न लगायो भने सामाजिक दूरी कायम गराउँदै गाउँमा एउटा मिल पनि चल्न दियो । मर्कामा परेका जनताको बोली बोलिदिन पाएकामा सन्तोष मानें । राससले समाचारमार्फत स्थानीयवासीको पिरमर्कालाई उठाइदिएर समस्या समाधान गरिदिएको भन्दै केहीले व्यक्तिगत रुपमै धन्यवाद दिए ।
पटक–पटकको अनुरोध पछि बल्ल वैशाख ५ गते सङ्क्रमित क्षेत्रमा रिपोर्टिङ गर्न जाने २६ जना पत्रकारको पहिलो पटक स्वास्थ्य कार्यालय उदयपुरको प्राङगणमा नमूना स्वाब सङ्कलन कार्य हुनसक्यो ।
एक २६ वर्षीय पत्रकारमा बाहेक अरु सबैको नेगेटिभ रिपोर्ट आयो । यसपछि राहत महसुश ग¥यौं । कोरोना सङ्क्रमण भुल्के हुँदै जिल्लाको अन्य स्थानीय तहहरुमा पनि फैलिँदै थियो । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको थियो । अर्कातिर निरन्तर लकडाउनको कारण जिल्लामा दैनिक ज्यालामा बाँच्ने मजदूरहरुको अवस्था पनि झन् झन् कष्टकर बन्दै गइरहेको थियो ।
रासस केन्द्रीय कार्यालयका चिफ रिपोर्टरबाट पाएको हौसला र सल्लाहअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनको अवस्था, ज्यालादारी मजदूरहरुको सकस, राहत वितरण र उपचारबारे बुझ्न दैनिक रिपोर्टिङमा निस्कन थालें र सकेसम्म समाचार बनाएँ ।
जिल्लाका पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी नगरपालिका, विकट पहाडी क्षेत्रको उदयपुर गाउँपालिका सहितका स्थानमा रहेका क्वारेन्टिनको अवस्था र राहत वितरणबारे बुझ्न जान घरबाट एकाबिहानै निक्लनु पर्ने हुन्थ्यो । ती ठाउँमा पुग्दा होटल र पसलहरु बन्द भइसक्थ्यो । धेरैचोटि भोकभोकै रिपोर्टिङ गर्नुप¥यो ।
पहिलो पटक भुल्केका दुई स्थानीयवासीबाट उदयपुरमा कोरोना सङ्क्रमण शुरु भएको थियो । भुल्केकै एक १८ वर्षीय युवक भारतको उत्तरप्रदेशको मदरसाबाट फागुन ४ गते पढेर फर्केका थिए भने अर्का भुल्केकै ५८ वर्षीय पुरुष भारतको गुजरातको गार्मेन्ट उद्योगबाट चैत ३ गते फर्किएका थिए । उनीहरुबाटै भुल्केको नुरी मस्जिदका जमातेहरुमा र छिमेकीहरुमा कोरोना सरेको थियो । तर जेठको दोस्रो हप्तादेखि भारतबाट उदयपुर आउने मात्र हैन विदेशबाट आउनेहरुको भीड बढ्दै गएपछि उदयपुरमा पनि कोरोना सङ्क्रमितको सङख्या थपिँदै गयो ।
फलतः जिल्लामा क्वारेन्टिनहरु थपिए । सङ्क्रमितको उपचारका लागि बाध्य भएर धरानस्थित बिपी मेमोरियल अस्पताल र कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगर पठाउनुप¥यो ।
जिल्लाका यस्ता समस्याहरुका बारेमा पनि सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउन मैले पटक–पटक गाउँठाउँमै पुगेर समाचार लेखे । जेठ ४ गते मुख्य मन्त्री शेरधन राई भुल्केको अवस्था बुझ्न आइपुग्नुभयो । त्यस मौकामा हामी पत्रकारहरुले उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्नु पर्ने माग जोडदार रुपमा अघि सा¥यौं । यसबारेमा समाचार पनि लेखें ।
यो समाचार राससबाट सम्प्रेषण भएपछि स्थानीय तह र प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा उदयपुरको चौदण्डी नगरपालिकामा कोरोना उपचार केन्द्रको स्थापना गर्ने काम भयो । हाल यहाँ १६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । क्वारेन्टिनमा बसेकाहरुको अवस्था र क्वारेन्टिन सुधारका विषयमा कठिनाइहरु भोग्दै समाचार लेख्दैआएको छु । अहिले जिल्लामा सञ्चालित क्वारेन्टिनहरुमा धेरै सुधार आइसकेको जो कोहीले अनुभव गर्न सक्छन् ।
कडा लकडाउनको समयमा रिपोर्टिङमा खटिँदा प्रहरी तथा सुरक्षाकर्मीहरुबाट पटक–पटक दुव्र्यवहार खेप्नु प¥यो । मेरो गाडी समेत प्रहरीले कब्जा गरेर लगिदियो । छिमेकीहरुबाट छिः छिः दूरदूर सहनुप¥यो । मैले सङ्कटका बीच पनि रिपोर्टिङको कामलाई जारी राख्न सकें । कोेरोना महामारीको रिपोर्टिङ भन्दा अगाडि मैले यस्तो कठिन अवस्था कहिल्यै भोगेको थिइनँ । गत वर्षको चैत १८ गतेदेखि अहिलेसम्मको अनुभवले रिपोर्टिङ भनेको एउटा सङ्घर्ष रहेछ भन्ने बुझें । आगामी दिनमा थप प्रतिकूल परिस्थितिमा काम गर्न यसले हौसला थपिदिएको छ ।
पछिल्लो समय सबैले कोरोनाका बारे राम्ररी बुझ्न थालेका छन् । लकडाउन केही खुकुलो हुन थालेपछि रिपोर्टिङको कार्य विस्तारै सहज हुँदै गएको अनुभूति भएको छ । सुरक्षाकर्मीहरुले पनि सञ्चारकर्मीहरुप्रति सहयोगी र सभ्य व्यवहार गर्नुपर्छ भन्ने बुझ्न थालेका छन् ।
छिमेकीहरुले पनि कोरोनाको नाममा एक मानवले अर्का मानवलाई घृणा र तिरस्कार गर्नु भन्दा सामाजिक दूरी कायम गरेर बस्न सहयोग गर्नु पर्छ भन्ने तथ्य आत्मसात गर्न थालेका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार चैत्र १८ गते पहिलो चोटि कोरोना सङ्क्रमित फेला परेदेखियता जिल्लामा अहिलेसम्म ७३ जना सङ्क्रमित भइसकेका छन् भने ४८ जना उपचारपछि घर फर्केका छन् ।
COMMENTS