15 July, 2020 2:50 pm


विदेशबाट फर्कने, बेरोजगार युवालाई मध्यविन्दुबाट सहुलियत ऋण

नवलपरासी, ३० असार । नवलपरासीको मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ ।वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७ ७८ देखि नयाँ कार्यक्रमस्वरुप युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

नगर क्षेत्रभित्रका उद्यम गर्न चाहने महिलालाई तीन प्रतिशत तथा पुरुषलाई चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने नगर प्रमुख चन्द्रबहादुर रानाले बताए । नगरपालिकाबाट कृषि विकास बैंकसँग सहकार्य गरेर विदेशबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बनाउन ऋण लगानी गर्न लागिएको जनाइएको छ ।

आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रममा नै समावेश गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि विकास बैंकमा धरौटीवापत सो रकम जम्मा गर्ने र बैंकले स्वरोजगार हुन चाहने युवाका लागि रु ६ करोड बराबर ऋण प्रवाह गर्ने सहमति भएको रानाले बताए । नगरका स्वरोजगार हुन चाहने युवाको आवेदन सङ्कलन गरेर प्रतियुवा रु ५० हजारदेखि पाँच लाखसम्म लगानी गरिने जनाइएको छ ।

नगरपालिकाले वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रममार्फत ऋण दिने भए पनि सो योजनामार्फत विदेश नगएका तथा यहीँ केही उद्यम गर्न इच्छुक युवालाई समेत समावेश गर्ने नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिए । हाल नगरका बेरोजगार युवा तथा विदेशबाट फर्किएका र फर्किन चाहने युवाको लगत सङ्कलन भइरहेको बताइएको छ ।

लगत सङ्कलनपछि स्वरोजगार हुन चाहने युवाबाट सार्वजनिक रुपमा आवेदन माग गरिने रेग्मीको भनाइ छ । नगरका युवालाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि नगरपालिकाले सीप, प्रविधि र लगानी गर्दै उद्यमशील बनाउने नगर उपप्रमुख ओमकुमारी महतोले बताए ।

बजेट पारित

मध्यविन्दुको सातौँ नगरभाले आगामी आव २०७७÷७८ का लागि रु ७९ करोड ६१ लाख एक हजार ६३१ बराबरको बजेट पारित गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएकोे आगामी आवको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

आगामी आवका लागि नगरपालिकाले चालूतर्फ रु ३६ करोड ९१ लख ४६ हजार तथा पूँजीगततर्फ रु ४२ करोड ६५ लाख ५ हजार ५३१ बजेट विनियोजन गरेको छ । कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन, रोजगारी गुमाएका नागरिकलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउनु बजेटको मुख्य उद्देश्य रहेको महतोले बताए ।

कृषि विकास कार्यक्रमका लागि रु ८६ लाख ८० हजार, पशुसेवा कार्यक्रमका लागि रु ८५ लाख १० हजार, स्वाथ्य सेवा कार्यक्रमका लागि रु ९४ लाख ९७ हजार, शिक्षातर्फ रु एक करोड ७४ लाख ७३ हजार ८७० र वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board