काठमाडौं , १ साउन । पाकिस्तानले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई दुई वटा सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।
पाकिस्तानी राजदूत मजहर जाभेदले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.रोहित कुमार पोख्रेललाई बुधवार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । त्रिवि शिक्षण अस्पतालको ३८ औं वार्षिकोत्सवका उपलक्ष्यमा पाकिस्तानी दूतावासले एम्बुलेन्स प्रदान गरेको हो ।
कार्यक्रममा पाकिस्तानी दूतावासमा कार्यरत कूटनीतिज्ञ र शिक्षण अस्पतालका विभिन्न संकायका प्रमुखहरुको समेत सहभागिता थियो । कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.पोख्रेलले अस्पतालाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।
पाकिस्तानी दूतावासले प्रदान गरेका एम्बुलेन्स बिरामीको सेवाका लागि मात्रै नभएर दुई देशबीचको राम्रो सम्बन्ध र माया भएको पनि उनको भनाई थियो । नेपाली फिजिसियन र सर्जनका लागि पाकिस्तानले दिएको अध्ययनको सुविधाको पनि उनले प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । कार्यक्रममा पाकिस्तानी राजदूत मजहर जाभेदले नेपाल र पाकिस्तानबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहयोग आदानप्रदानको सराहना गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
COMMENTS