16 July, 2020 12:15 pm


मेलम्चीको बाँध भत्केपछि उद्धार गर्न गएको बोट दुर्घटना

सिन्धुपाल्चोक, १ साउन । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ।

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ ।

शव फेला
भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिराले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो ।

गए राति आएको पहिराले दुई घरमध्ये एक पूर्ण तथा अर्को आंशिक क्षतिग्रस्त भएको छ । पूर्णरुपमा क्षति भएको घरका पाँच महिलालार्ई पहिराले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।

घर बनाउन पहल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गरिदिने भएको छ । गत असार २५ गते आएको बाढीपहिराका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बुधबार बताए । भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायीरुपमा बसिरहेका छन् ।

काँग्रेस वाग्मती संसदीय दलको सहयोग
काँग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई रु पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । काँग्रेसले प्रतिपरिवार रु पाँच हजारका दरले रु चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।

त्यस्तै काठमाडौँको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई रु १० हजारका दरले र सात घाइतेलाई रु १० हजारका दरले रु एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board