काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड)बाट आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बिहान ८ बजेदेखि बसेको सञ्चालक समितिको बैठक सकिएको छ ।
पारित भएको मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा केही बढाउने भएको छ । राष्ट्र बैंक श्रोतका अनुसार पर्सनल होमलोनको सीमा १० प्रतिशतले बढाइएको छ भने मार्जिल लेण्डिङको सीमा पनि ५ प्रशितले बढाएर ७० प्रतिशत पुर्याइने भएको छ ।
श्रोतका अनुसार सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ-गाउँसम्म पुर्याउने समेत नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।
अटो लोनको सीमालाई पनि बढाएर राष्ट्र बैंकले ६० प्रतिशत पुर्याएको छ । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्ने बताईएको छ ।
हाल बैंकिङ प्रणालीमा २ खर्ब अधिक तरलता रहेकोले तत्कालै अन्य क्षेत्रमा कर्जाको माग बढ्ने अवस्था नरहेको र बजारमा कर्जा प्रवाह होस् र आर्थिक क्रियाकलापहरु बढुन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंक श्रोतको भनाई छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम छ । आज सार्वजनिक हुने मौद्रिक नीतिले कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधा मिल्ने बताईएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो।
COMMENTS