चितवन, ६ साउन । लगातार परेको बर्षाका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर, देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । पूर्वानुमान महाशाखाका अनुसार जल सतह अझै बढ्ने क्रममा रहेको छ ।
नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको छ भने, वडा नंं. २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा रहेको छ ।
यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ ।
यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ। अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
COMMENTS