काठमाडौँ, १२ साउन । कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आइतबार मृत्यु भएको हो ।
ती पुरुषमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी पर्साको वीरगञ्जमा बासोबास गर्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा वीरगञ्जस्थित गण्डक अस्थायी अस्पतालमा निधन भएको हो । उनी मुटु तथा मधुमेहका बिरामी थिए ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । मन्त्रालयले उनीहरुको मृत्युप्रति समवेदना प्रकट गरेको छ ।
एक सय ३९ नयाँ सङ्क्रमित फेला, ६२६ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् ।
यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन÷तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक÷एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३.५ प्रतिशत हो ।
हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए ।
प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् ।
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६४ लाख ३२ हजार ११० पुगेको छ । कोरोना भाइरसबाट छ लाख ५२ हजार ४३२ जनाले ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख छ हजार ५५४ कोरोना जितेर डिस्चार्ज भएका छन् ।
यो पनि
महाबौद्धमा कोरोना संक्रमण भेटिएपछि सार्वजनिक सूचना जारी
बिरामी जाँचिरहेका एक डाक्टरलाई कोरोना संक्रमण
नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो
COMMENTS