कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु


वीरगञ्ज, १६ साउन । कोरोना भाईरसको संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएको कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहको भनाई छ । उनी भारतीय नागरिक हुन् ।

बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । डा. निरज सिंहका अनुसार नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको हो ।

मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए । १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. सिंहको भनाई छ ।

यस्तै, बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board