काठमाडौं, १९ साउन । कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम वाणिज्य विभागले सिल गरेको छ । विभागका अनुसार कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको हो ।
एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको छ । विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रका अनुसार गोदाममा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी गरिएको छ ।
त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको विभागको भनाइ छ ।
बजारमा चिनीको अभाव तथा तरकारीमा अस्वभाविक रुपमा मूल्य बढाइएको गुनासोपछि अनुगमन तीव्र पारिएको विभागले जनाएको छ ।
त्यस्तै, मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गराएको छ ।
COMMENTS