जनजाति आन्दोलनका एक अगुवाको निधन

कर्णाली, २७ साउन । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टी जसपाका कर्णाली प्रदेश महासचिव रहेका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए । संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए । उनकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताए । “समाजका हरेक क्षेत्रमा सक्रिय उनी इमान्दार पनि त्यत्तिकै हुनुहुन्थ्यो”, शाक्यले भने, “उनको नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उहाँ पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहेका थिए । उनको सोमबार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board