काठमाडौं, २८ साउन । कोरोना भाइरसको त्रास आम नागरिकमा दिन–प्रतिदिन बढिरहेको छ । कोरोनाबाट नेपालमा २३ हजार ९ सयभन्दा बढी नागरिकहरु संक्रमित भइसकेका छन् । संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।
सरकारले चार महिना लकडाउन गरेर खुला गरेसँगै देशभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । लामो समय लकडाउन गर्दा देशको अर्थतन्त्र तहसनहस बनेको छ नै, नागरिकहरुको जनजीवन पनि कष्टकर बन्दै गएको छ । बिहान बेलुका काम गरेर जीविका चलाउँदै आएको श्रमिकहरुको अवस्था झन बेहाल बनेको छ । यस्तो बेला नागरिकहरु जीवनको जोखिम मोलेर काममा लागेका छन् भने सरकारी कार्यालय ‘सेवा बन्द’को सूचना टाँगेर आराम गर्नथालेका छन् ।
कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले विभिन्न मापदण्ड बनाएर लागू नगरेको पनि होइन । जनस्तरबाट लकडाउन खुला गर्न सरकारमाथि चौतर्फी दबाब परेपछि अन्ततः सरकारले यही श्रावण ७ गतेदेखि लकडाउन हटाएको थियो ।
लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किएका छन् । सीमा नाकामा कडाइ र व्यवस्थित गर्न सकिएको छैन । उपत्यकामा मात्र होइन देशभर नै कोराना संक्रमित फैलिएको छ । पछिल्लो समयमा वीरगञ्ज लगायतका ठाउँमा त समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको देखिएको छ । लकडाउनको अवधिमा नागरिकले आफूले पालना गर्नुपर्ने नियम माने पनि लकडाउन हटाइएको दुई साता नबित्दै पुनः सटडाउनतिर लाग्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो । अर्कातिर कोरोना भाइरस सहज रुपमा नियन्त्रण नहुने विभिन्न अध्ययनले देखाइरहेका बेला हामीकहाँ भने कोरोनाको संक्रमणदर र मृत्युदर बढी रहेको छ । आजमात्रै देशका विभिन्न अस्पतालमा थप ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी तीन पुरुष र एक महिलाको राति ज्यान गएको हो ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।
यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।
COMMENTS