काठमाडौं, २८ साउन । युरोपा लिगको सेमिफाइनलमा स्पानिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलमा सेभियाले इंग्लिस क्लब वल्भ्सलाई र साख्तरले स्वीस क्लब बासेललाई पराजित गरेका हुन् ।
खेलको अन्त्यतिर लुकास ओकमपासले गरेको एक गोलको मद्दतमा सेभियाले वल्भसलाई १-० ले पराजित गरेको हो । त्यसअघि १३औं मिनेटमा सेभियाका गोलकिपर यासिन बोउनोउले वल्भसका राउल जिमेनजको पेनाल्टी प्रहार रोकेका थिए । खेल बराबरीतर्फ अघि बढिरहेको बेला ओकम्पासले ८८औं मिनेटमा एभर बनेगाको पासमा गोल गर्दै सेभियालाई जित दिलाए । युरोपा लिगमा सेभियाको यो कीर्तिमानी ४०औं जित हो । यस्तै १५ सिजनमा सेभिया छैटौं पटक सेमिफाइनल पुगेको छ ।
सेभियाले अब सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै युक्रेनी क्लब साख्तरले बासेललाई ४-१ ले पराजित गर्दै समिफाइनलमा इटालियन क्लब इन्टर मिलानसँग भेट पक्का गरेको छ ।
बासेलका लागि अन्तिम समयमा रिक्की भान वल्फस्वीन्केलले सान्त्वना गोल फर्काए । अब अगष्ट १६ मा सेभिया र युनाइटेडबीच पहिलो सेमिफाइनल हुनेछ भने इन्टर र साख्तरको दोस्रो सेमिफाइनल अगष्ट १७ मा हुने बताईएको छ ।
COMMENTS