कामठाडौं, ३२ साउन । कोरोना कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भोलिदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् ।
नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले हिजो नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्र्तराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।
विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् । सरकारले अबको उद्धार उडानमा दैनिक पाच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफै टिकट काटेर आउने छन् । यसैबिच, नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् ।
COMMENTS