चिकित्सकले कोरोना भएको थाहा पाएपछि….

रुपन्देही, १ भदौ । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दौ रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु प¥यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् ।

चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनीले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनीको छिटो विधिबाट पिसिआर परीक्षण ग¥यो । नतिजा पोजेटिभ आयो ।

यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र अत्यावश्यक पर्दा लुम्बिनी प्रादेशिकमा शल्यक्रिया हुन नसक्ने जवाफ फर्काए । चिकित्सकको टोलीले शल्यक्रियाका लागि नेपालगञ्ज वा काठमाडा्रं लैजान रिफर समेत गरे । गर्भवतीका श्रीमान् पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् । आफन्तले हतारहतारमा एम्बुलेन्स खोजे ।

“नियमित जाँच गर्दै आएका चिकित्सकले श्रीमान्लाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिए, सरकारी अस्पतालमा त समस्या नहोला भनेर लुम्बिनी प्रादेशिक अस्पताल गयौँ तर यहाँ हुँदैन भन्ने जवाफ पायौँ गर्भवतीका आफन्तले भने “ त्यसपछि त के गर्ने भनेर एकदमै तनाव भयो ।”

गर्भवती, त्यसमाथि कोरोना पोजेटिभलाई काठमाडौँ वा नेपालगञ्जसम्म लैजान एम्बुलेन्स चालक सहजै तयार भएनन् । आज मात्रै परिवारका सदस्यले प्रसूतिका लागि गर्भवतीलाई बुटवलबाट निजी साधनमा नेपालगञ्ज लैजाने निर्णय लिए ।

कोरोना भाइरस पोजेटिभ भएका गर्भवतीको शल्यक्रिया गर्न नसक्ने लुम्बिनी प्रादेशिक अस्पतालको जवाफले यहाँको स्वास्थ्य क्षेत्र कति कमजोर छ भन्ने प्रष्ट भएको गर्भवतीका आफन्त हरि खनालले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थप भएको, अस्पतालमा निकै राम्रो सुधार आएको जस्ता समाचार सञ्चार माध्यममा आइरहेका छन् । प्रदेशको राजधानीमै कोरोना पोजेटिभको शल्यक्रिया गर्न नसक्ने जवाफले कोरोनाले महामारीको रुप लिए कति गर्भवतीको बच्चा जन्माउन नसकेरै ज्यान जाने हो भन्ने चिन्ता थपिएको छ ।

कोरोना फैलिएको करिब पाँच महिनासम्म पोजेटिभ बिरामीको शल्यक्रियाका लागि तयारी नहुनुले स्थानीय तथा प्रदेश सरकारहरुले कोरोना रोकथाम र त्यसले सिर्जना गर्ने स्वास्थ्य समस्या निराकरणका लागि गरेका तयारी कति फितलो छन् भन्ने अझ प्रष्ट भएको छ ।

अस्पताल प्रशासननले भने कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माण गर्ने तयारी गरेको जनाएको छ । “अस्पतालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमित गर्भवतीका लागि उपचारको व्यवस्था छैन”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले भन्नुुभयो, “छुट्टै कक्ष निर्माणका क्रममा छ तर बनिसकेको छैन ।” प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए। उनले कोभिड–१९ सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board