पोखरामा ५० वर्षीया महिलाको मृत्यु, कास्कीमा निषेधाज्ञा

पोखरा, २ भदौ । पोखरामा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काका अनुसार उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको थियो ।

डा। खड्काले भने, ‘हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’ अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा
कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन ।

स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागु गरिएको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board