२४ घण्टामा १३ जनाको कोरोनाबाट मृत्यु : २२ जना भेन्टिलेटरमा, १६४ जना आईसीयूमा

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जम्जुङ, पाल्पा र रुपन्देहीमा एकएक जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ५ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङकी ५६ वर्षीया महिलाको मत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या लिएर कोशी अस्पताल पुगेकी उनलाई कोरोना संक्रमण भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।

बिराटनगर–१०, मोरङकी ६५ वर्षीया महिलाको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उनी राति १० बजे अस्पताल भर्ना भएकी थिइन् । विहान स्वास्थ्य अवस्था गम्भीर भएपछि भेल्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको छ ।
भक्तपुरकी ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हेटौंडा–१९, मकवापुरकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । दम र निमोनियाकी विरामी उनलाई ७ भदौमा अस्पताल भर्ना गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

९ भदौमा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।धोविनी–३ पर्साको ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । भदौ ८ मा भर्ना भएका उनलाई निमोनिया समेत भएको थियो ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा बुधबार मृत्यु भएका धनुषाको मुपखयापट्टी मुसहरनिया–४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुखीपुर–८ सिराहाका ६५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेर ६ भदौमा अस्पताल पुगेका उनलाई संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

दमक–३ झापाका ८३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ३ भदौमा संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी शिक्षण अस्पताल, बिर्तामोडले धरानमा रिफर गरेको थियो ।

भरतपुर–२, चितवनका ५१ वर्षीय पुरुषको पुष्पाञ्जली अस्पतालमा मृत्यु भएको छ । ८ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी दमका बिरामी थिए ।

मध्यनेपाल–७, लमजुङ का ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजानै क्रमममा गेटमै ढेलका उनको केही घण्टापछि मृत्यु भएको थियो । ९पोखरामा आफन्त कहाँ बसेकाले स्वास्थ्य मन्त्रालयले उनको ठेगाना कास्की भनेको छ ।

तिलोत्तमा–४, रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएका उनको पछिल्लो समय भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

पाल्पामा कोरोना भाइरस सङ्क्रमित एक महिलाको ज्यान गएको छ । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा तानसेन ८ मदनपोखराकी ३० वर्षीया महिलाको ज्यान गएको मेडिकल कलेजले पुष्टि गरेको हो ।

गएको भदौ ७ गते कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन वार्डमा उनको उपचार भइरहेको थियो । पहिलेदेखि नै मुटुसम्बन्धी समस्या देखिएकी महिलामा कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब भैरहवा प्रयोगशाला पठाइएको थियो ।

उपचारका क्रममा मुटुको समस्या बढ्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बेलुकी उनको ज्यान गएको हो ।

मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।

यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board