कोरोनाबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

वीरगञ्ज, १६ भदौ । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए अनुसार बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनका अनुसार बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो । बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ ।

पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । घरवारविहीन र पहिचान समेत नखुलेका उनी सडकमै बेवारिसे अवस्थामा जीबन व्यतित गर्दै आएका थिए । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ । मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board