कर्फ्युका बीच यसरी भयो पुल्चोकमा रातो मत्स्येन्द्रनाथको ‘क्षमा पूजा’

काठमाडौं, १९ भदौ । कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा सम्पन्न गरिएको हो ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खल-बीच सहमति भएको छ । बिहीबार जात्रा सञ्चालन गर्ने नाममा धार्मिक सद्भावमा खलल पुर्‍याउने, स्थानीयको भावनामा चोट पुर्‍याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने काम भएको भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो । २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्‍याउने सहमति भएको छ ।

ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने, २२ गते भु:ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने उल्लेख छ । यसबारेमा शिल्पकार समाजले भने सहमति जनाएको छैन । पाटनमा १९ वटा जातीय खल: छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board