समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधारभूमि साक्षर नेपाल अभियान हो – प्रधानमन्त्री

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माण गर्ने अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारभूमि भएको बताए । उनले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने विश्वास ब्यक्त गरे ।

शुभकामना सन्देश

५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविश्य सुनिश्चित गर्ने सफलताका लागि समेत यस अवसरमा शुभकामना दिन चाहन्छु ।

हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ । यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ । यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । साक्षर तथा साक्षरोत्तर कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रहरुको परिचालनबाट टोल टोलसम्म यी कार्यक्रमहरु पुर्याउन सम्भव भएको छ । अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ । यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्ने गरी तोकिएको छ । यसलाई प्रभावकारी बनाउन सम्बद्ध सबै तहहरुलाई हार्दिक आह्वान गर्दछु ।

नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको छ । यसका लागि हामीले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेका छौं । यसको सफल कार्यान्वयनमा प्रभावकारिता, सहजता, स्पष्टता र एकरुपता ल्याउन स्थानीय तह प्रदेश लगायत सम्वन्धित निकाय, संघ संस्था र सरोकारवालाहरुको अझै सक्रिय भूमिका आवश्यक छ । साक्षर नेपाल निर्माणको उद्देश्य पूरा गर्न यी सबै निकायहरुको रचनात्मक र सक्रिय भूमिका मैले अपेक्षा गरेको छु ।

हामी मुलुकलाई अविकासबाट विकासतिर, बिपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका छौं । यस मार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्ने हाम्रो संकल्प छ । साक्षर नेपाल निर्माण गर्ने हाम्रो अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारभूमि हो । तसर्थ यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने छन् भन्ने विश्वास लिएको छु ।

यतिबेला विश्वजगत कोभिड– १९ को महामारी सामना गरिरहेको छ । संसारसँगै हामी पनि कोभिड– १९ को संङ्क्रामक रोग, त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेका छौं । जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पुर्याएको क्षतिबाट माथि उठ्ने चुनौति हाम्रा सामु छ । त्यसैले दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नु पर्ने छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य उनुरुप साक्षर नेपालको अभियान अगाडी बढाइरहेका छौं । निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो । हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं ।

अन्त्यमा, आजको संङ्कट सँगै ५४ औँ साक्षरता दिवसको अवसरमा साक्षरता र सामाजिक सचेतनाका साथ कोभिड १९ को संङ्कट सामना गरौं । तत्पश्चात् साक्षरता, शिक्षण तथा सिकाइमा शिक्षार्थीको भूमिका (Literacy teaching and learning in Covid 19 crisis and beyond with focus on the role of educators and changing pedagogies )भन्ने मुख्य मान्यताका साथ अगाडी बढ्न यस दिवस सफल रहोस् भन्ने शुभेच्छासाथ हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

२३ भदौ २०७७

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board