हवाई क्षेत्रले गुमायो १६ अर्ब बढी नोक्सानी

काठमाडौँ, २३ भदौ । कोभिड-१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए । उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ ।

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले बन्दाबन्दीको छ महिनाको अवधिमा बुद्धएयरले मात्रै करिब रु चार अर्ब नोक्सानी बेहोरेको छ । यती एयरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै रु तीन अर्ब आर्थिक नोक्सानी भएको छ ।

यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ । देशकै अग्रणी वायुसेवा कम्पनी बुद्धएयरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत छ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो । दैनिक ७० वटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले चार हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्रीएयरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।

वायुसेवा कम्पनीको भनाइमा सङ्घको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुनजान्छ । उसोभए एयरलाइन्सको भनाइमा चाँही कति नोक्सानी भयो त ? बुद्धएयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा रु ६० देखि ७० करोड आम्दानी गर्यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रु १५ करोड सहजै आम्दानी गर्नेगरेको थियो । छ महिनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा रु एक अर्बभन्दा बढी घाटा हुन्छ ।

बुद्धएयरले ११ एटिआरसहित १३ जहाजमार्फत विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले छ महिनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्ब भन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले रु ५० करोड हाराहारी आर्थिक नोक्सानी बेहोरेको बताए । यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा बेहोर्नुपरेको छ । विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो । बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र शैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान छ वटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी बेहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउनमहिनासम्मको विवरण हो ।

डेढ खर्बको लगानी जोखिममा
कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ । बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रु एक खर्ब ५३ अर्बको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । कोभिडको मख्य प्रभव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्याङ्कले पनि पर्यटन क्षेत्रमा छ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै तीन लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ । सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा रु एक खर्बको पुनःरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board