कैलाली, २३ भदौ । १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी छिन् । उनले कञ्चनपुरमा आफुमाथि सामुहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरी स्रोतका अनुसार ४ जना युवाले आफुमाथि बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको हो ।
उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी छिन् । जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।
उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएको बताईएको छ । तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन् ।
प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ । बलात्कार गरेको आरोप लागेका ४ जना अहिले फरार छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
COMMENTS