चाड पर्वको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नुपर्छ – प्रधानमन्त्री

काठमाडौं, २५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चाड पर्वको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु बताए । पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सवै नेपालीमा शुभकामना ब्यक्त गरेका छन् ।

यस्तो छ जितिया पर्वमा प्रधानमन्त्रीको शुभकामना

पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् । सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं । यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् । कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, जितिया पर्वको सुखद् अवसरमा थारु एवं मैथिली दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board