एसीड प्रहार गर्नेविरुद्ध कडा कानुन बन्दै,१५ दिनमा मस्यौदा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौ । अमानवीय र जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्न कडा कानुन ल्याइने भएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले तेजाब एसिड पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन कानुन ल्याउने बताएका हुन् । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

देशका विभिन्न भागमा भएका एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् ।

एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा त्यसको खर्च ब्यहोर्नुका साथै उचित रोजगारी र जीविकाको प्रबन्ध पनि सरकारले नै गर्ने पनि प्रधानमन्त्रीको भनाइ रहेको साथै अपराधीको सम्पतत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त पारेका छन् ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board