काठमाडौं, २७ भदौ । ललितपुरका अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।
पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए । यसवीच रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उच्च ज्वरो आएपछि अस्पताल पुगेको उनमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
COMMENTS