काठमाडौं, २८ भदौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको निर्देशनविपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाइ सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोके पनि यसको पालना नभएको हो ।
हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेपछि मुख्य गरी काठमाडौंको न्युरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तालिका अनुसार पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका थिए । जसअनुसार खाद्यवस्तु, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ । तर, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।
फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ । तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ । सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाउने नियम बनाएको छ । तर यस्ता पसल पनि दिनभर खुल्ने गरेका छन् ।
COMMENTS